Loading...

Friday, January 10, 2020

धुर्मुसले डेढ महिनामै तयार पारे अन्तर्राष्ट्रिय क्रिकेट मैदान

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

चितवन (रामपुर) । नीलो कर्कटपाताको कम्पाउन्ड । कम्पाउन्डको बीच भागमा स्वागतद्वार । स्वागतद्वारको दायाँबायाँ संस्थाको यसअघिका कामका चिनारी झुण्ड्याइएका छन् ।
स्वागतद्वारबाट भित्र पस्नेबित्तिकै उत्तरपट्टि मिनि मञ्चमा आँखा पर्छ । मञ्चको आडैमा छ, ५० यार्डको मिनि क्रिकेट मैदान । क्रिकेट मैदानलाई दुईवटा रकेटका प्रतिमूर्तिले पहरा दिइरहेको प्रतीत हुन्छ ।
adadad
यो त भयो बाहिरी दृश्य । नमुना मैदानको भित्रपट्टि पनि नीलै जस्तापाताले बारिएको छ । जहाँ तीन सयजनाभन्दा बढी सेता–पहेँला सुरक्षाटोपी लगाएका कामदार खटिएका छन् ।
कोही साभेल चलाइरहेका । कोही कराहीमा मसला ओसारिरहेका । कोही थुन्सेमा बालुवा बोकिरहेका छन् । कसैका हातमा ज्यावल छन् । कसैका काँधमा सिमेन्टका जोरबोरा देखिन्छन् ।
कसैका हात खाली छैनन् । पुसे ठण्डी र झरिलो मौसमले पनि उनीहरूको लय बिथोल्न सकेको छैन । मानौं, उनीहरूको जोस–जाँगर देखेर प्रकृति पनि हार मान्न विवश छ ।
यो दृश्य हो, भरतपुर महानगरपालिका–१५ मा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ।
झण्डै एक वर्षअघि कृषि तथा वन विश्वविद्यालयको भोगचलनमा रहेको २० बिघा ८ कट्ठामा फैलिएको यो स्थल काँसघारी थियो । आवादी नभएको, बसाइँ–सराइपछि उजाडिएको लावारिस गाउँजस्तो । दिनदहाडै स्यालका हुइयाँ सुनिँदा स्थानीय आवतजावत गर्न डराउँथे ।
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ठट्टा गर्छन्, “विश्वविद्यालयको जग्गा भनेर के गर्नु यो त स्यालहरूको प्रणयस्थल थियो । मासिदिएको रिस फेर्न होला बेलाबखत आवाजको जुलुस निकाल्छन् ।”
गत कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक भएपछि रङ्गशाला निर्माणको काम युद्धस्तरमा अघि बढेको छ । कामदार, स्थानीयवासी मात्र नभई क्रिकेट समर्थक, शुभेच्छुक र सहयोगीहरू उत्साहित देखिएका छन् ।
दुई वर्षमै रङ्गशाला बन्नेमा ढुक्कप्रायः छन् ।
डेढ महिनामै मैदानको ८० प्रतिशत काम सकियो
गत माघ १६ गते (सहिद दिवस) का दिन फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच क्रिकेट रङ्गशाला बनाउने सहमति भएपछि नै धुर्मुस र पत्नी कुञ्जना घिमिरे (सुन्तली) मङ्गलपुर पुगेका थिए ।
तर, तत्काल काम सुरु गर्ने हालतमा जग्गा थिएन । वरिवरि ठूल्ठूला रूख, जमिन उबडखाबड र संरक्षित सीमसारजस्तो घोल थियो । धुर्मुस, सुन्तलीले तत्काल मैदान सम्याउने काम सुरु गरे । रूख कटान र कम्पाउन्डिङ गरे ।
अस्थायी बारबेर लगाउने क्रममा स्थानीयसँग विवाद भएपछि झण्डै चार महिना काम ठप्प पनि भयो ।
डीपीआर तयार भएपछि भने ‘फुल फेज’ मा काम सुरु भएको धुर्मुस बताउँछन् । डेढ महिनाको अवधिमा कामदार आवास गृह, गोदाम घर, भ्यु टावर, नमुना मैदान बनाउने कामले पूर्णता पाएको छ ।
४ सय ७१ मिटरको वृत्ताकार परिधिको मुख्य मैदान बनाउने काम पनि ८० प्रतिशत पूरा भएको परियोजनाका सिभिल इन्जिनियर राजेश थापा बताउँछन् ।
क्रिकेट खेल नियमका हिसाबले मात्रै दुरुह छैन । खेलमा सयभन्दा बढी नियम–उपनियम छन् । मैदान पनि उस्तै खर्चिलो र झन्झटिलो छ ।
अहिले मैदानको वरिपरि ४ सय ७१ मिटरको नाला निर्माण भइरहेको छ । नालैभरि रड बाँधिरहेका, फर्मा ठोकिरहेका, मसला खन्याइरहेका कामदार मात्रै देखिन्छन् ।
“३ दशमलब ३७ मिटरको बाहिरी र २ दशमलब ३७ मिटरको भित्री सेरवाल सहितको नाला निर्माणको काम ५० प्रतिशत पूरा भएको छ । यो नालाले मैदानलाई आवश्यक पर्ने पानी छान्ने, प्रशोधन गर्ने र सञ्चित गर्ने काम गर्नेछ,” थापा भन्छन् ।
मैदानलाई हराभरा राख्‍न दैनिक १ लाख लिटरभन्दा बढ्ता पानीको जरुरत पर्छ । एकपटक मैदान सिञ्चित गर्न झण्डै ४५ हजार लिटर पानी आवश्यक हुन्छ । वर्षात्को बेलामा मैदानमा जम्मा भएको पानीलाई तुरुन्तै निकास पनि दिनुपर्छ । नालाले त्यो सबै काम गर्ने धुर्मुसको भनाइ छ ।
नालाको काम सकिएपछि पिच निर्माणको कामले पनि पूर्णता पाउनेछ । मैदानको मध्य भागमा सातवटा पिचका लागि खाल्डो खन्ने काम समानान्तर रूपमा अघि बढिरहेको छ ।
“मैदानको बीच भागमा सातवटा पिचका लागि ढुङ्गा छाप्ने काम भइरहेको छ । नालाको काम सकिएपछि मैदान पुनः सम्याउनुपर्छ । त्यसपछि मात्रै पिचको काम सकिन्छ,” इन्जिनियर थापा भन्छन् ।
साढे तीन सय कामदार, चारवटा मेस
धुर्मुस–सुन्तलीको कामको विशेषता हो, उनीहरूको काममा कुनै ठेकेदार– पेटी ठेकेदार हुँदैनन् । निर्माण सामग्री खरिद, ढुवानी सबै आफैंले गर्छन् । मध्यस्थ राख्दैनन् ।
रङ्गशाला निर्माणका लागि अहिले तीनजना इन्जिनियर, दुईजना ओभरसियरसहित २५ जना कर्मचारी र साढे तीन सय कामदार (मिस्त्री, लेबर) उदयाचलदेखि अस्ताचलसम्म खटिन्छन् ।
“कामको प्रकृति हेरेर थपघट पनि हुनसक्छ । प्यारापिटको काम सुरु भएपछि कामदारको सङ्ख्यामा वृद्धि हुन्छ । सुरुमा मिस्त्री भनेर आएका कामदार पछि लेवरमा घटुवा हुन पनि सक्छन् । कोही लेवर मिस्त्रीमा बढुवा हुन पनि सक्छ,” धुर्मुस भन्छन् ।
यी सबै कामदार फाउन्डेसनको सुरुवाती परियोजनादेखि छन् । एकीकृत पहरीबस्ती निर्माणदेखि रङ्गशालासम्म छुटेका छैनन् । “उहाँहरू फाउन्डेसनकै अङ्गजस्तो भइसक्नु भयो । कतिपय देश निर्माणमा योगदान दिन पाइएजस्तो अनुभूति गर्नुहुन्छ । अहिले पनि कस्तो रङ्गशाला बन्ला, कहिले बन्ला भनेर उहाँहरूलाई बढी छटपटी देख्छु,” धुर्मुस भन्छन् ।
धुर्मुसले बिहान ७ बजे कार्यक्षेत्रमा प्रवेश भइसक्नुपर्ने नियम बसाएका छन् । बिहान ६ बजे नै कामदार, कर्मचारी मैदान छिर्छन् । र, लाइन लाग्छन् ।
केहीबेर व्यायाम गर्छन् । शरीर तन्काउँछन् । कवाजको अन्तिममा राष्ट्रिय गान गाएपछि दिनको सुरुवात र कामको थालनी हुन्छ ।
११ बजे एक घण्टा खानाका लागि ब्रेक दिइन्छ । साँझको साढे पाँच बजे छुट्टी पाउँछन् ।
कामदार बिरामी भएमा, चोटपटक लागेमा मैदानकै छेउमा उपचार कक्ष बनाएका छन् । आवश्यकताअनुसार चिकित्सक बोलाएर उपचारको बन्दोवस्त मिलाइएको धुर्मुस बताउँछन् ।
कामदार अस्थायी प्रकृति (करार) का भएकाले बिमाको व्यवस्था गर्न नसकिए पनि अरू सुविधा–सहुलियतमा भने कुनै कञ्जुस्याइँ नगरिएको उनको दाबी छ ।
“देश बनाउने नै उहाँहरूले हो, उहाँहरूलाई खुसी नबनाइ परियोजना कहाँ अघि बढ्छ र ?,” उनी प्रश्न पनि गर्छन् ।
कामदार र कर्मचारीका लागि चौधरी, सल्यानलगायतका नाम दिइएका चारवटा मेस (भान्छा) गृह तयार पारिएको छ । समूह विभाजन गरेर भात–भान्छाको प्रबन्ध मिलाइएको र दिनैपिच्छे फरकफरक मेन्यु राखिने गरेको धुर्मुस बताउँछन् ।
सबै कर्मचारी, कामदारको मुख्य रेखदेख धुर्मुस आफैंले गर्छन् । कामको सुपरिवेक्षण गर्न सघाउ पुगोस् भनेर चितवनकै राइडर्स माउन्टेन बाइक स्टेसनले उनलाई रातो रङको साइकल सहयोग गरेको छ । त्यही साइकल डुलाएर दिनभरजसो धुर्मुस कामको रेखदेख गर्छन् ।
“रङ्गशाला बनाउने धूप, चटारोले घरै पो भुलेछु । घर नगएको दुई महिना भयो । जानू पो किन ? सुन्तली र छोरी सुबिहानी पनि यतै छन्,” उनी फेरि ठट्टा गर्छन् ।
भ्यू टावरबाटै डेढ लाख सङ्कलन
धुर्मुस–सुन्तलीको परियोजनाको विशेषता हो, भ्यु टावर । यसअघि निर्माण भएका सबै एकीकृत बस्तीमा भ्यु टावर निर्माण गरेका छन् । भ्यु टावर नमुना बस्तीको आयआर्जनको भरपर्दो माध्यम बन्न सक्छ । तर, क्रिकेट रङ्गशालाको भ्यु टावर अहिले नै आम्दानीको स्रोत बनेको छ ।
डेढ महिनाको अवधिमा भ्यु टावरबाट मात्रै डेढ लाख आम्दानी भएको छ । झण्डै ७ हजार पाँच सय आगन्तुक भ्यु टावर खुट्किला उक्लिइसकेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न थालेपछि रामपुर क्षेत्रको मात्रै होइन, मङ्गलपुरको समेत परिचय बदलिएको छ । चितवनको परिचय त झन् नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको जिल्लाका रूपमा उदात्त बन्ने निश्चितै छ ।
“निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पछिल्लो समय पर्यटकीय ‘हब’ बन्न पुगेको छ । शनिबार त पाइला राख्ने ठाउँ नै हुँदैन । अरू बार पनि उल्लेख्य आगन्तुक आउनुहुन्छ,” धुर्मुस दङ्ग पर्दै सुनाउँछन् ।
क्रिकेट रङ्गशाला निर्माणका लागि भ्यु टावरले मात्रै सघाएको छैन, परियोजनास्थल पस्नेबित्तिकै पश्चिमपट्टि रहेको मिनी मैदानले पनि उत्तिकै सघाएको छ । ५० यार्डको मिनी मैदानमा सप्ताहन्तपिच्छे नै ‘च्यारिटी म्याच’ आयोजना हुन्छ ।
चितवन उद्योग वाणिज्य सङ्घ र वस्तुगत सङ्घबीचको स्पर्धाबाट सुरु भएको ‘च्यारिटी म्याच’ ले हरेक साता निरन्तरता पाएको छ । प्रतिम्याचको शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।
“च्यारिटी म्याचले रङ्शाला निर्माणमा मात्रै सघाएको छैन, क्रिकेटको बारेमा चासो पनि उत्तिकै बढाएको छ,” धुर्मुस सुनाउँछन् ।
९७ वर्षका वयोवृद्ध पनि ‘दाता’
रङ्गशाला निर्माणका लागि देश–दुनियाँ, संसारभरका नेपाली, नेपालभाषीबाट सहयोगको हात बढ्दो छ । ठाउँठाउँमा च्यारिटी कार्यक्रम भएका छन् । दिनहुँ रङ्गशाला पुगेर आफैं सहयोग रकम थमाउने पनि छन् । परियोजना स्थलको मुखैमा राखिएको सहयोग डेस्क कहिल्यै सहयोगी हातविहीन हुँदैन ।
बुधबार बेलुकीमात्रै पनि डोटी, शिखर नगरपालिका–९ को सीताराम माध्यामिक विद्यालयका शिक्षक–अभिभावकले गच्छेअनुसारको सहयोग हस्तान्तरण गरे ।
पाल्पा, लुम्बिनी, चितवनको भ्रमण सकेर डोटी फर्कन लागेको शैक्षिक भ्रमण टोलीलाई चितवनकै निर्माणाधीन रङ्गशाला नहेरी चित्तै बुझेन । धुर्मुस–सुन्तली नभेटी मनै मानेन । मङ्गलपुर पुगेर धुर्मुसलाई भेटेर आफ्नै हातले सहयोग थमाए ।
अहिले त्यसरी सहयोग रकम बोकेर जाने युवा, प्रौढमात्रै छैनन्, विदेशको उच्च तापमानमा पसिना बगाउने निम्न–मध्यवित्तका र ९५–९७ वर्ष उमेर पार गरेका पाका हजुरबा–हजुरआमा पनि छन् ।
“उहाँहरूले देश बनेको देखेरै मर्न पाइने भयो भनेर प्रफुल्ल मुद्रामा आर्शीवचन दिनुहुन्छ । आफूले पाएको वृद्धभत्ता पनि रङ्गशाला बनोस् भन्ने कामनासहित थमाउनु हुन्छ । उहाँहरूको आर्शीवादले कामका लागि छुट्टै ऊर्जा मिलेको छ,” उनी दृढ हुँदै सुनाउँछन् ।
त्यसबाहेक जन्मोत्सव, विवाह, पितृकार्यको खर्च कटाएर रङ्गशाला निर्माणका लागि सहयोग उपलब्ध गराउने पनि छन् ।
“यी सबै सहयोगले त हो, रङ्गशालाले विस्तारै आकार लिँदै गएको,” धुर्मुस हाँस्दै सुनाउँछन् ।
उधारोमै निर्माण सामग्रीको उरुङ
मैदानको काम नसकिँदै प्यारापिट निर्माणको काम आरम्भ भइसकेको छ । सुरुआती चरणमा ५२ वटा भीमकाय पिलर उठाउने काम सुरु हुन्छ । त्यसपछि ३ सय ५२ वटा सहायक पिलर बन्नेछन् । आगामी ६ महिनाभित्रमा प्यारापिटले पनि आकार लिइसक्ने धुर्मुसको दाबी छ ।
सम्पूर्ण प्रदेश झल्काउने सातवटा ठूला पातसहितको कमलफूल आकारको मौलिकता प्रतिबिम्बित हुने बाह्य आवरण हुनेछ । फुटबल, बास्केटबल, ब्याडमिन्टन कोर्ट, कभर्ड हल, स्विमिङ पुलआदि संरचना भएको ‘खेल विश्वविद्यालय’ कै अवधारणा त छँदैछ ।
धुर्मुसका अनुसार अहिले जति कामदार बढाउन सकियो र निर्माण सामग्री आपूर्ति हुन सक्यो उति नै रङ्गशाला निर्माणको कामले गति लिन्छ । पर्याप्त मात्रामा रकमको जुगाड नहुँदा धुर्मुसले उधारोको सहारा लिएका छन् ।
नजिकका डिपोबाट बालुवा, गिटी, छड मात्र नभई सिमेन्ट समेत उधारोमा झिकाएका छन् । चितवन, हेटौडामा सामग्री नपाएपछि सीमावर्ती सहर वीरगञ्ज पनि पुग्छन्, उधारोमै सामग्री झिकाउँछन् । सहयोग रकम सङ्कलन हुँदै जाँदा किस्तामा रकम भुक्तानी गर्दै जाने धुर्मुसको योजना छ । “जाडो महिना छिचोलिएपछि रात्रिमा पनि काम चालू हुन्छ ।
यही रफ्तारमा कामले तीव्रता पाउँदैजाँदा दुई वर्ष लक्ष्य राखिए पनि डेढ वर्षमै काम पूरा हुन्छ,” धुर्मुसको गर्विलो आवाज सुनिन्छ ।
धुर्मुसले जिन्सी सहयोग–सहायता सङ्कलनमै जोड दिएका छन् । डोजर, रोलर, स्काभेटरजस्ता निर्माण उपकरण पनि सरसहयोगमै काम चलाएका छन् । “सुरुमा दसदिनलाई भनेर माग्छु ।
फेरि पाँच दिन थपिदिन आग्रह–अनुरोध गर्छु । ‘देश बनाउन त हो’ भनेपछि उहाँहरू पनि सहमत हुनुहुन्छ । यसरी निर्माणलाई तीव्रता दिइएको छ,” उनी रङ्गशाला निर्माणले गति लिनुको कारण बताउँछन् ।
रङ्गशाला बनाउन देश–दुनियाँबाट सहयोगको हात मात्र बढेको छैन, स्वयम् सेवा गर्न आउनेहरूको पनि ताँती नै लागेको छ ।
तर, कामको दक्षता, सीपका कारण आएजतिलाई सीधै निर्माण–स्थलमा प्रवेश गराउन सकिँदैन, मिल्दैन ।
पिचका लागि आवश्यक पर्ने माटो धुल्याउने र केराउ–दानाको आकार दिने कामका लागि भने जति पनि स्वयम् सेवी खपत हुने उनको भनाइ छ । “आएजतिलाई माटो कुट्न लगाउँछु,” उनी भन्छन् ।
त्यसबाहेक समूह–समूहमा आएका स्वयम्सेवीले बालुवा चाल्ने, ढुङ्गा ओसार्ने, रड बोक्ने काममा भने धुर्मुस–सुन्तलीलाई जति पनि सघाउन सक्छन् ।
रकम उठ्नेमा ढुक्क !
अघिल्ला परियोजना निर्माणमा सघाउ पुगोस् भनेर धुर्मुस–सुन्तली देश–देशावर पुग्थे । च्यारिटी कार्यक्रम आयोजना गर्थे । यसपटक दुवै मैदानमै खटिनु परेकाले च्यारिटी कार्यक्रम हुन सकेका छैनन् ।
तर, परियोजनाको काम द्रूततर ढङ्गबाट अघि बढ्दै जाँदा सहयोग रकम पनि बढ्दो छ । अघिल्लो परियोजनाको तुलनामा सहयोगी–दाताहरूको उत्साह झनै बढेको धुर्मुसको अनुभूति छ ।
“अघिल्ला परियोजना निश्चित समुदायका लागि थिए । निर्माणाधीन परियोजना देशकै गौरवको आयोजना हो । त्यसैले पनि हुनुपर्छ–सहयोगीहरूमा उत्साह, अठोट छ,” उनी भन्छन् ।
डीपीआर अनुसार रङ्गशाला बनाउन २ अर्ब ६५ करोड लागत अनुमान गरिएको छ । तर, जिन्सी र श्रम सहयोगले अझै लागत छोट्याउने धुर्मुसको भनाइ छ ।
“परियोजना तयार हुँदानहुँदै अनुमानित रकमको जोहो भइसक्नेमा ढुक्क छु,” उनी विश्वस्त छन् ।
स्रोत : बारखरी

No comments:

Post a Comment